आज बिश्वासको मत लिंदै प्रधानमन्त्री ओली
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएका छन् । यसका लागि संसद बैठक दिउँसो १ बजे बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असार ३१ गते पद तथा गोपनियताको सपथ गरेका थिए ।

संविधान अनुसार प्रधानमन्त्रीको पदभार ग्रहण गरेको ३० दिन भित्र विश्वासको मत लिन सकिने भएपनि ओलीले एक साता भित्रै विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेसको सहयोगमा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेसको ८८, नेकपा एमालेको ७८, अशोक राई नेतृत्वको जसपाको ७, जनमत पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र २ गरी १९४ मत पक्षमा आउने देखिन्छ ।
नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी,नेकपा एकीकृत समाजबादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री ओलीलाई बिश्वासको मत नदिने घोषणा गरिसकेका छन्।

