सोलुदुधकुण्ड-२ कृषि यान्त्रीकरण वडा घोषित



सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले नगरपालिकाको वडा नं -२ बेनीलाई कृषि यान्त्रीकरण वडा घोषणा गर्नुभएको छ।

सोमबार बेनीमा आयोजित कृषि औजार बितरण तथा कृषि यान्त्रीकरण वडा घोषणा कार्यक्रममा प्रमुख अतिथि शेर्पाले सो वडालाई कृषि यान्त्रिकरण वडा घोषणा गर्नुभएको हो।

नगरपालिकामा सूचीकृत ३३६ घर कृषकमध्ये सबैको पहुँचमा कृषि यन्त्र पुगेका कारण सो वडालाई कृषि यान्त्रिकरण वडा घोषणा गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख पासाङ ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो।कृषि यान्त्रीकरण घोषणा भएको यो सोलुखुम्बु जिल्लाकै पहिलो वडा हो।

सोही कार्यक्रममा नगरपालिकाले ९ वटा मिनिटिलर,९ वटा थ्रेसर,१२ वटा कम्बाइन मिल,९ वटा ब्रस कटर,६ वटा कन्सेलर,१८ वटा टिम्बुर टिप्ने औजार,२ वटा च्याफ कटर कृषकहरुलाई प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शेर्पाले प्राप्त कृषि यन्त्रहरुको उपयोग गरी यसबाट पर्याप्त प्रतिफल लिन कृषकहरुलाई आग्रह गर्नुभयो।परम्परागत कृषि प्रणालीका कारण पछिल्लो समय कृषि पेशाप्रति नै बिकर्षण पैदा हुन थालेका कारण थोरै समय र लगानीमा धेरै प्रतिफल लिन सकिने भएका कारण कृषि यान्त्रीकरणमा नगरपालिकाले जोड दिएको वहाँको भनाई थियो।

बिकाससंगै समृद्धि जोड्ने उद्देश्यले नगरपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउंदै नगरप्रमुख शेर्पाले यसका लागि आवश्यक कुनै पनि कुराको परिपुर्तिका लागि आफुले कुनै कसर बांकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वडा नं २ का वडाध्यक्ष ङवाङ ठिले शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख गान्धीमाया तामाङ,,वडा नं ७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले पनि आ-आफ्नो धारणा राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्