आज साउने सङ्क्रान्ति,लुतो पनि फालिदैँ



काठमाडौं।सौरमास अनुसार हरेक वर्ष साउन १ गते मनाइने साउने अर्थात् (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान,दान एवम् आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ ।

माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । धेरै नेपाली असार महिनाभर खेतीकिसानीमा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्राध्यापक डा. देवमणि भट्टराईले बताउनु भएको छ । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् ।

साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ ।त्यही भएका कारण यो महिनामा काठमाडौंको पशुपतिनाथ र अन्य शिबालयहरुमा भक्तजनको घुँइचो लाग्ने गर्दछ।पछिल्लो समय साउने सोमबार व्रत बस्ने चलन पनि व्यापक हुँदै गएको छ।साउनमा बिशेष गरी महिलाले हरियो चुरालगायत कपडा लगाउने गर्छन् ।

परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने,शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।

प्रतिक्रिया दिनुहोस्