नेपालमा थप दुइ जनाको कोरोनाबाट मृत्यु, बुधबार देशभर एक सय जनामा सक्रमणको पुष्टि
काठमाडौं ७ श्रावण । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षिय पुरुष र ४९ वर्षिय चिनियाँ महिलाको मृत्यु भएको हो।
मन्त्रालयका प्रवक्ता डा, जागेश्वर गौतमका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका ६० वर्षिय पुरुषको साउन ६ गते निधन भएको हो। खोकी, उच्च ज्वरु र स्वासप्रस्वासमा समस्या आएपछि उनी साउन २ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका थिए। सघन उपचारकक्षमा उपचारकका क्रममा मृत्यु भएपछि नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताए ।
त्यसैगरी पोखरामा काम गर्दै आएकी एक ४९ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मणिपाल अस्पताल भर्ना गरिएको थियो। थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएकोमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। कोरोना पुष्टि भएपछि थप उपचारका लागि टिचिङ लगिएकोमा बुधबार निधन भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ।
मन्त्रालयका अनुसार बुधबार देशका विभिन्न २८ वटा प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण भएको छ। जसमा १ सय जनामा पोजेटिभ देखिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ। अहिले संक्रमण दर २ देखि ३ प्रतिशत मात्रै रहेको प्रवक्ता डा। गौतमले बताए। अहिले विभिन्न अस्पतलाका आइसोलेसनमा ५ हजार ३ सय ७० जना उपचाररत रहेका छन्।


