राष्ट्रपतिले आव्हान गरे लगत्तै सरकारमा दावी पेश गर्ने कांग्रेस एमालेको तयारी
काठमाडौँ।सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले आव्हान गरे लगत्तै दावी पेश गर्ने तयारी स्वरुप नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले हस्ताक्षर संकलन गरेका छन्।

संबिधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति पौडेलले आव्हान गर्ने बिश्वासका साथ एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठनका लागि दावी पेश गर्न हस्ताक्षर संकलन गरिएको हो।कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आ-आफ्नो पार्टीको तर्फबाट सरकारमा दाबी पेस गर्ने निवेदनमा हस्ताक्षर गरेका छन् ।
धारा ७६ को उपधारा (२) अनुसार गठन भएको सरकारले प्रतिनिधि सभामा बिश्वास गुमाएपछि उपधारा (३) आकर्षित हुने हुने कतिपयले दावी गरिरहेका बेला राष्ट्रपति पौडेलले यस बिषयमा अपरान्ह संबिधानबिद्हरुसंग परामर्श गरेका थिए।
राष्ट्रपति पौडेलको निमन्त्रणामा परामर्शका लागि शितल निवास पुगेका चन्द्रकान्त ज्ञवाली बाहेकका कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई र सीताराम केसीले उपधारा(२)अनुसारकै सरकार गठनका लागि आव्हान गर्न सल्लाह दिएको बताईएको छ।

