बिपद्का घटनामा परी एक महिनामा १०३ जनाको मृत्यु,३ हजार ५ सय ४७ परिवार विस्थापित



काठमाडौं।अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ३ जनाको मृत्यु भएको छ।

बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना,मधेश प्रदेशमा ५ जना,बागमती प्रदेशमा ६ जना,गण्डकी प्रदेशमा ३८ जना,लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा १ सय ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ८ जना,बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ९ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ। साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र गण्डकी प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ६ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । १ सय ८९ वटा घर, ७२ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ९ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्‌का घटनाबाट ३ हजार ५ सय ४७ घर परिवार विस्थापित भएका छन् ।

यसैबीच,बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्