सम्पादक समाज नेपालले सम्पादकहरुको राष्ट्रिय भेला गर्ने
काठमाडौं।सम्पादक समाज नेपालका नवनिर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ।

शनिबार आयोजित एक कार्यक्रममा कार्यसमितिका नवनिर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत अधिवक्ता माधव अधिकारीले प्रमाणपत्र हस्तान्तरण गर्नु भएको हो।त्यस लगत्तै बसेको समितिको बैठकलले सम्पादकहरुको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकले भेला आयोजनाका लागि कोषाध्यक्ष माधव दुलालको संयोजकत्वमा कार्य समिति सदस्यद्वय माधव पौडेल र कवि थापा मगर सदस्य रहेको एक समिति समेत गठन गरेको छ ।
यसैगरी उपाध्यक्ष नारायण उपाध्यायको संयोजकत्वमा प्रकाशन समिति, उपाध्यक्ष जुनारबाबु बस्नेतको संयोजकत्वमा प्रशिक्षण समिति र कार्य समिति सदस्य शरण उत्सुक संयोजक र ध्रुव रावल सहसंयोजक रहेको पालिका समन्वय समिति गठन गरिएको समाजले जनाएको छ।
बैठकले काठमाडौदेखि समाजको भवन रहेको सूर्यचौरसम्म पत्रकारहरुका लागि हाइकिङ्ग सहितको कार्यक्रम गर्ने निर्णय गरेको छ ।

