दुई बर्षभित्र सोलुखुम्बुलाई अंध्यारोमुक्त बनाउन सांसद राइको दौडधुप

काठमाडौं,६ साउन । २ बर्षभित्र सोलुखुम्बु जिल्लालाई अंध्यारोमुक्त बनाउने संकल्पसहित विद्युत बिकासको क्षेत्रमा सक्रिय संघीय सांसद हेमकुमार राई ‘सुरबीर’ ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ संग भेट गरि जिल्लाको विद्युत बिकासका बिषयमा छलफल गर्नुभएको छ।

अंध्यारोमुक्त सोलुखुम्बुका लागि चालू आर्थिक बर्षमा ग्रामीण विद्युतीकरणका लागि ८ करोड बजेट बिनियोजन भएको जानकारी दिंदै सांसद राइले विद्युतीकरणको कामलाई प्राथमिकताका साथ अघि बढाउन र टेन्डर प्रक्रिया पूरा गरि चालु रहेको कामहरूलाई समयसीमा भित्रै सम्पन्न गर्न आग्रह गर्नुभएको थियो।
कार्यकारी निर्देशक घिसिङसंग सोमबार भएको भेटमा स्थानीयस्तरमा संचालित लघु जलविद्युत आयोजनाको ब्याबस्थापनका सन्दर्भमा समेत छलफल भएको अनेरास्ववियुका नेता भुपेन्द्र कट्टेलले जानकारी दिनुभयो ।छलफलमा सांसद राइले जनताको लगानी गुम्न नदिने गरि लघु जलविद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने गरी त्यसको तयारी थाल्न ध्यानाकर्षण गराउनुभएको थियो।
सांसद राइले बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रका प्रबन्ध निर्देशक मधुसूदन अधिकारीसंग मंगलबार भेट गर्नुभएको सांसद राइको सचिवालयले जनाएको छ।भेटका अवसरमा घिसिङ र अधिकारीले विद्युत बिकास बोर्डको निर्णयलाई आधार मानि बैकल्पिक उर्जा , स्थानीय सरकार र समुदायसंगको समन्वयमा लघु जलविद्युत आयोजनाको ब्यबस्थापन गर्ने र जनताको लगानी डुब्न नदिने प्रतिबद्धता व्यक्त गरेको कट्टेलले बताउनु भयो ।
सांसद राइसंगको टोलिमा नेकपा केन्द्रीय सदस्य राजेन्द्र बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख बीरकुमार राई, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राइ र युबा संघका केन्द्रीय सदस्य हेमचन्द्र थुलुङ र कट्टेल सहभागी हुनुहुन्थ्यो ।।

