कबिता- नेपाल गुमनाम छ




डिल्ली शर्मा

छैनन् ती हिमका सफेद चुचुरा, काला भए पथ्थर।
झुल्दैनन् किन चाैरमा फसल ती बाँझा भए बंजर।
न सम्मान छ ज्ञानकाे किन यहाँ गनिन्छ रे टाउकाे।
फेरिएर नयाँ भए सहर ती के नाउँ भाे गाउँकाे।

बज्दैनन् किन साँझमा भजन ती, मन्दिर सुनसान छ।
मेराे देश छ कि,थियाे कि पहिले,नेपाल गुमनाम छ।

गैंडा खाग बिना ढलेर पथमा पारिन्छ रे पासमा।
कस्तुरी मृग देखिदैन बनमा,बेचिन्छ रे खासमा।
रैथाने बीउ मासिएर घरका,फिक्का छ भान्सा पनि।
बिगा हेक्टर राेपनी कमि अरे,आना हुने छन् धनी।

भाका लै बरिका सुनिन्नअहिले,डिस्काे अनि गान छ।
मेराे देश छ कि,थियाे कि पहिले नेपाल गुमनाम छ।

बिक्दैनन् सीप हातका श्रमहरु,उ निच छ तुच्छ छ।
लुट्ने, जाल फिजाउने जनहरु,सम्मानमा उच्च छ।
पैसा जप्छ सदैब मानव यहाँ,बेच्दैछ आमा पनि।
ढुङ्गा झै मन बाेक्छ जाे हृदयमा,उहीँ बन्छ दानी पनि

बिर्स्यो गाउँ बिदेसियाे तर पनि, उस्कै ठुलाे सान छ।
मेराे देश छ कि,थियाे कि पहिले नेपाल गुमनाम छ।

जाेत्दा बस्छ थुचुक्क तैपनि किन? साँढे बनेकाे छ उ।
उहीँ हाे रक्षक दुधकाे तर यहाँ,ढाडे बनेकाे छ उ।
बुद्दि छैन बिचार शून्य जसका,बिद्वान आफैं बन्याे।
पानी छैन मुहानमा तर पनि कुलाे उसैले खन्याे।

खाेज्नु हुन्न हिसाब उसका,खल्ती उसैका भरी।
सत्य मर्छ निस्सासिंदै किन यहाँ,के हुन्छ उसले मरी।
न्याय मर्छ भुतुक्क याे सडकमा,संसाझ जलपान छ।
मेराे देश छ कि,थियाे कि पहिले,नेपाल गुमनाम छ।

प्रतिक्रिया दिनुहोस्