बैंक मालिकहरुले आफ्नै बैंकबाट ॠण लिन नपाउने व्यबस्था गर्नुपर्छ : आजपा अध्यक्ष साह
बनेपा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले लघुवित तथा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गराउन आम जनताले सशक्त संघर्ष गर्नुपर्ने बताएका छन् ।

ताम्सालिङ्-नेवा प्रदेश कमिटीले आयोजना गरेको खबरदारी र्याली सहितको बृहत् भेलालाई सम्बोधन गर्दै साहले सो कुरा बताएका हुन्।
अहिले देशमा बैंकहरुले आम सर्वसाधारण जनताको बचतको पैसा खुलेआम लुटिरहेको आरोप लगाउंदै अध्यक्ष साहले भने, बैंकका मालिकहरुले नै अन्य विभिन्न व्यापार–व्यवसायमा लगानी गर्न एक-अर्काको बैंकबाट सहुलियत कर्जा लिने तथा नेपाली जनताको करको पैसा र बचतकर्ताको बचत पैसालाई गिरोह बनाएर दोहन गर्न तल्लीन छन् । यो स्थितिलाई बदल्न बैंक मालिकहरूले बैंकबाट ऋण लिन नपाउने व्यवस्था गर्नुपर्छ ।”
कार्यक्रममार्फत विभिन्न पार्टी परित्याग गर्दै शम्भु प्रसाद तिम्लसिना, वीरबहादुर तामाङ्, राजेन्द्र तामाङ्, विवेक नेपाली, राजु तामाङ्, सानु कान्छा तामाङ्, विजय लामा, अशोक श्रेष्ठ लगायतका दर्जनौं नेता कार्यकताहरु विधिवत रुपमा आजपा प्रवेश गर्दा अध्यक्ष साहले पार्टीमा स्वागत गरेका छन् ।
प्रदेश अध्यक्ष रमेश थपलियाको अध्यक्षतामा सम्पन्न उक्त जनप्रदर्शन सहितको भेलामा आजपाका बरिष्ठ उपाध्यक्ष तिलक थापा मगर, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ्,महासचिव त्रिभुवन साह,उपमहासचिव तथा प्रवक्ता चन्द्रभुषण साह, धनकुमारी मगर, सचिव देवी पण्डित, नारायण श्रेष्ठ लगायतका नेताहरुको समेत सहभागिता रहेको थियो ।

