अगष्ट १ बाट आन्तरिक र १५ तारिखबाट बाह्य उडान सन्चालन गर्न पर्यटन सम्बद्ध संस्थाहरुको माग



काठमाडौं,१ साउन । सरकारद्वारा जारी safty Protocol अनुरूप नियमित समय तालिका बमोजिम आन्तरिक तथा बाह्य हवाई सेवा संचालन गर्न पर्यटनसंग सम्बद्ध व्यावसायिक संघ संस्थाहरुले माग गरेका छन।

राजधानीमा बिहिवार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरि पर्यटनसम्बद्ध ३० संस्थाका प्रतिनिधिहरुले ब्यबसायीहरुलाइ पलायन हुन बाध्य नपार्ने हो भने अगस्ट १ देखि आन्तरिक र १५ तारीख देखि अन्तर्राष्ट्रिय उडान सुचारु गर्न माग गरेका हुन।उनीहरूले सरकारले आफुहरुको मागको सुनुवाइ नगरे चरणबद्द आन्दोलन गर्ने चेतावनी समेत दिएका छन।

हवाई सेवा समग्र पर्यटन गतिविधिको आधारसमेत भएको एवं नियमित उडान नभएको अवस्थामा नेपाली नागरिकले महँगो शुल्क तिर्न बाध्य भएको भन्दै सीमा नाकासमेत खोल्न व्यवसायीहरुले माग गरेका छन् । संयुक्त प्रेस विज्ञप्तिमा स्वास्थ्य सुरक्षासम्बन्धी उपायहरु पालना गरी पर्यटकीय सवारीसाधन निर्वाध सञ्‍चालन गर्न दिन पनि माग पनि गरेका छन् ।

कोभिड(१९ ले विश्वमा पारिरहेको प्रभावलाई हेर्दा तुरुन्त पूर्ववतः अवस्थामा फर्कन नसक्ने स्पष्ट देखिएको भन्दै उनीहरुले पर्यटन जस्तो संवेदनशील क्षेत्र सबैभन्दा प्रभावित भएको र केही वर्षसम्म असर पर्ने जनाएका छन् । “यस अवस्थामा आमपर्यटन व्यवसायी र समग्र पर्यटन समुदायले न्यूनतम आधार तय गरी परिस्थिति अनुकूलका सेवा उपलब्ध गराउँदै उपयुक्त कार्यक्रम लागू गरी विस्तारै कोभिड(१९ सँगै अनुकुल जनजीवन सञ्चालन गर्नुको विकल्प नभएको ठानेका छौं,” जारी विज्ञप्तिमा जनाइएको छ ।

आन्तरिक तथा बाह्‍य उडान ठप्प भएसँगै नेपाली पर्यटन उद्योग शून्य हुँदै असीमित दायित्ववहनसँगै ऋणात्मक भई १० लाखको रोजगारी तथा खर्बौंको लगानी समेत संकटमा परेको उनीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्