झण्डै एक अर्बले घट्यो कोशी प्रदेशको बजेट
बिराटनगर।कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट सार्बजनिक गरेको छ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले शनिबार प्रदेश सभा बैठकमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट पेश गरेका हुन्।

मन्त्री मगरले चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख, पूँजीगततर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनतर्फ २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५८ करोड ५० लाख रुपैयाँ बजेट अनुमान गरेका छन् । चालू खर्चमध्ये संघीय अनुदान फिर्तातर्फ ३ अर्ब रुपैयाँ विनियोजन अनुमान गरिएको छ।कोशीको चालू वर्षको बजेट ३६ अर्ब ६४ करोड थियो। यसपटक झन्डै एक अर्ब रुपैयाँ बराबरको बजेट घटेको छ।
प्रदेश सरकारले बजेटमा सरकारी,निजी तथा सहकारी क्षेत्रको सहकार्यमा दिगो विकासको लक्ष्य हासिल गर्ने, स्रोतहरुको न्यायोचित वितरणमा जोड दिने र सङ्घियता कार्यान्वयनका लागि संघ र स्थानीय सरकारसग समन्वय गर्ने उल्लेख गरेको छ।
बजेटमा कृषि क्षेत्रको उत्पादकत्व बढाउने,शिक्षा,स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्ने तथा प्रदेशको भौतिक पुर्वाधार विकासमा जोड दिइएको छ।

