कोशी प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठी सम्पन्न
मोरङ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार,भन्सार छलि, राजस्व चुहावट जस्ता गतिविधि नियन्त्रण गर्न सबै जिम्मवार निकायहरूले आ-आफ्नो स्थानबाट सक्रिय रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ।

नेपाल सरकार गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सोमबार सम्पन्न कोशी प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरामा जोड दिनुभएको हो। कार्कीले समाजमा सुशासन, समृद्धि र अमन चयन कायम गर्नको लागि गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो। वर्दी लगाएको प्रहरी जहाँ उभिन्छ त्यहाँ सरकारको प्रतिनिधित्व भइरहेको हुने चर्चा गर्दै उहाँले नागरिकलाई समस्या परेको बेला सबै भन्दा पहिला प्रहरी समक्ष पुग्ने र उनीहरूको गुनासो सुनुवाई प्रहरीले गर्नुपर्ने बताउनुभयो। लागू पदार्थ दुर्व्यसन तथा कारोबार नियन्त्रणमा विशेष अभियान, सचेतानमूलक कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा गृह सचिव एकनारायण अर्यालले गोष्ठीमा भएको प्रस्तुतीकरण एवम् छलफलले एक आपसमा भएका असल अभ्यासको आदान प्रदानमा महत्वपूर्ण भूमिका निर्वाह भएको उल्लेख गर्नुभयो ।
प्रदेशमा देखिएका सुरक्षा चुनौतिको निराकरण र समाधान गर्न जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले आफ्नो अधिकारको प्रयोग गर्न कुनै बाधा व्यावधान नपर्ने उहाँले बताउनुभयो ।
उक्त अवसरमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारी र कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।
गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यको आर्थिक, सामाजिक सुशासन, भौतिक पूर्वाधार र साँस्कृतिक विकास एवम् समृद्धिका निम्ति महत्वपूर्ण एवम् आधारभूत क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रलाई सक्षम, अब्बल र व्यावसायिक रूपमा विकसित गर्दै लैजान आवश्यक रहेको बताउनुभयो ।गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गर्दै समग्र प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न थप सक्रियता एवम् रचनात्मक ढंगले आ-आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य सम्पादन गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।
सो अवसरमा नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल क्षेत्री, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सह-सचिवहरू नारायण प्रसाद भट्टराई, डा. भीष्म कुमार भूसाल र थानेश्वर गौतम तथा कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेलले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतिकरण गर्नुभएको थियो । साथै कोशी प्रदेश अन्तर्गतका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो। गोष्ठीमा कोशी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र अगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो ।

