स्क्वायर र मेगा ड्रिम बहुउद्देश्यीय सहकारीका सञ्चालकहरु पक्राउ



काठमाडौं।काठमाडौंको मखनमा रहेको स्क्वायर बचत तथा ऋण सहकारी संस्थामा करिब साढे ७ करोड रकम हिनामिना गर्ने तीन जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ कुलेश्वरका ६६ वर्षीय बाशु देव मान जोशी, काठमाडौं-२५ केलटोलका ६७ वर्षीय सुवर्ण सेलालिक र काठमाडौं-२६ नरदेवीका ५८ वर्षीय धर्म रत्न पाछैं रहेका छन्। जोशी अध्यक्ष, सेलालिक सचिव र पाछैं सदस्य हुन्। 

बचतकर्ताको ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको आरोपमा उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जनाएको छ। काठमाडौं महानगरपालिका, नगर कार्यापालिकाको कार्यालय, सहकारी विभागको पत्रका आधारमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ। 

संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएकोले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराइदिने तर्फ आवश्यक पहल नगरी संस्था नै बन्द गरी गरेका थिए। 

उता,काठमाडौँको माछापोखरीमा मुख्य कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष र सीइओसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उपाध्यक्ष बासुदेव भट्ट, सचिव तथा सीइओ इन्द्र प्रसाद गेलाल र सदस्य शरद कुमार अधिकारी छन् ।

आरोपीहरूले सहकारीको २१ करोड २ लाख ८४ हजार रकम अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपीहरुबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान पुरा गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

बागमती प्रदेशस्थित संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले मेगा ड्रिमका सञ्चालकहरूलाई पक्राउ गरेर कानुनी कारबाही गर्न ४ मंसिर २०८० मा पत्राचार गरेको थियो ।

२०८० फागुन २९ मा प्रहरी वृत बौद्धमा जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान थालेको थियो । सहकारीका अध्यक्ष महाशंकर रेग्मी, कोषाध्यक्ष रबिन कुमार कार्की, सदस्य शेखर बस्नेत,सदस्य राजकुमार श्रेष्ठ, पूर्व अध्यक्ष उमाकान्त न्यौपाने, सदस्य प्रकाश घिमिरे र सुभद्रा चौलागाई फरार छन् । प्रहरीले उनलाई फरार प्रतिवादी कायम गरेको छ ।

सहकारी सञ्चालकहरूविरुद्ध १६२ जना बचतकर्ताले जाहेरी दिएका छन् । माछापोखरीमा मुख्य कार्यालय भएको सो सहकारीले थानकोट, कालीमाटी, न्यूरोड, चाबहिल, जारेपाटी, गठ्ठाघर र चापागाउँ दोबोटोमा सेवा कार्यालय सञ्चालन गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्