पूर्ब विद्यार्थी समाजले गर्यो हिमाल दर्शनका प्रत्येक कक्षामा खानेपानीको ब्यबस्था
सोलुखुम्बु ।नेचासल्यानको श्री हिमाल दर्शन माध्यमिक विद्यालयका प्रत्येक कक्षा कोठामा खानेपानीको ब्यबस्था गरिएको छ।सोही विद्यालयका पूर्ब विद्यार्थीहरुको साझा संस्था हिमाल दर्शन पूर्ब विद्यार्थी समाजले जारसहित धारा उपलब्ध गराएर बिद्यार्थीहरुका लागि कक्षा कोठामै खानेपानीको ब्यबस्था मिलाएको हो।

पूर्ब विद्यार्थी समाजका अध्यक्ष दिनराज बास्तोलाको अध्यक्षतामा बिहिवार सम्पन्न एक औपचारिक कार्यक्रमका बीच प्रमुख अतिथि नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई र नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम् वरिष्ठ समाजसेवी प्रकाशसिंह कार्कीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद बास्तोला र प्रधानाध्यापक अशोक कुमार शर्मालाई खानेपानी जार र धारा हस्तान्तरण गरेको सचिब हरीप्रसाद आचार्यले जानकारी दिए।
विद्यालयमा ‘एक कक्षा,एक धारा’ को ब्यबस्था गर्ने हिमाल दर्शन पूर्ब विद्यार्थी समाजको घोषणा अनुसार सो ब्यबस्था गरिएको अध्यक्ष दिनराज बास्तोलाको भनाई छ।हिमाल दर्शन माबिमा १७ वटा कोठामै कक्षा सञ्चालन भइ रहेको उनले जानकारी दिए।ती सबै कोठामा एक जार,धारो र एउटा जग उपलब्ध गराईएको छ।
विद्यालयले ५० बर्ष पूरा गरेको अवसरमा आगामी माघमा स्वर्ण महोत्सव मनाउँदै छ।सोही अवसरमा समाजले ५० बर्ष ५० संकल्प घोषणा गरेको थियो।’एक कक्षा,एक धारा’ सोही घोषणाको एउटा संकल्प भएको बास्तोलाले बताए।
यस अघि समाजले पहिलो कार्यक्रम अन्तर्गत भित्तेपात्रो वितरण गरेको थियो। यसपछि सामुदायिक विद्यालयका विज्ञसँग शैक्षिक छलफल गरिने उनले बताए ।

