मधेस प्रदेशमा नयाँ सरकार बन्ने, पदमुक्त भए मुख्यमन्त्री यादव
जनकपुर।मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् ।

बुधवार प्रदेशसभाबाट विश्वासको मत पाउन असमर्थ भएपछि उनी मदमुक्त भएका हुन् । जसपा नेपालका संसदीय दलका नेतासमेत रहेका यादवले बुधवार प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेका हुन् ।प्रदेशसभामा उपस्थित रहेका कुल १०३ सांसदमध्येबाट यादवको पक्षमा ५० मत आयो भने उनको विपक्षमा ५३ मत परेको छ ।
गत वैशाख ३० मा एमाले र माओवादी केन्द्र तथा जेष्ठ २२ मा एकीकृत समाजवादी सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएका थिए । त्यसअघि उनको दल जसपा नेपाल विभाजन भएकोले बुधवार नै विश्वासको मत लिनुपरेको हो ।
यादव ०७९ पौष २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गठबन्धन हेरफेरका कारण चार पटकसम्म विश्वासको मत पाएका उनी पाँचौं पटकमा भने असफल बनेका छन् ।
अब मधेशमा एमाले,माओवादी केन्द्र,एकीकृत समाजवादसहितको सहयोगमा जनमत पार्टी नेतृत्वको सरकार बन्ने सम्भावना बढेको छ ।

