वातावरण सुधारका गतिविधिहरू प्रबर्द्धन गर्न सबै एकजुट हुनुपर्नेमा राष्ट्रपति पौडेलको जोड



काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले वातावरण सुधारका गतिविधिहरू प्रवद्र्धन गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्।‘हाम्रो भूमि, हाम्रो भविष्य’ राष्ट्रिय नाराका साथ आज विभिन्न कार्यक्रमका साथ मनाउन लागिएको विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति पौडेलले सो कुर्बताएका हुन्।

‘वातावरण संरक्षण तथा सुधारका लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमले वन तथा वातावरणको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको छ’, राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ, ‘मानिसले प्राकृतिक स्रोतको अधिक दोहन गरेका कारण हामी वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको छ, त्यसलाई पुनःस्थापित गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न म सबैमा हार्दिक आह्वान गर्दछु ।’

विज्ञानको नवीनतम विकासको उदाहरणस्वरुप उत्पादन भएको प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहर वर्तमान समयको एक प्रमुख वातावरणीय चुनौती बन्न पुगेको र विकास तथा वातावरण एकापसका प्रतिद्वन्द्वी नभई परिपूरक भएको राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

दिगो विकासको अवधारणाबमोजिम नै सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई सम्बोेधन गर्नुपर्ने व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले गरेको उनले बताउनुभएको छ ।

‘नेपालले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्नका लागि आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्–’प्रकृतिमुखी जीवनशैलीका लागि वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई कसरी दिगो बनाउने भन्नेतर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता महसुस भएको हुँदा वातावरण सुधारका गतिविधिहरू प्रवद्र्धन गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरू एकजुट भई लाग्नुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’

प्रतिक्रिया दिनुहोस्