कविता
म भानु बन्न सकिन
सुवाश जमरकट्टेल


म अलिकति मानव
अलिकति दानव
चिम्पाञ्जिका पनि विशेषता छन्
राम, कृष्ण, बुद्ध अनि भानुका पनि
म अलिकति बाबुका लागि
अलिकति आमाका लागि
अलिकति दाज, दिदी, भाई, बहिनी पनि छन्
अनि अलिकति श्रीमतिका सुखका लागि
अलिकति उसैका दुःखका खातिर
म अलिकति छोराको बाबु
अलिकति छारीको पनि त हो नि
अलिकति इष्ट मित्र गाँउ समाजका लागि
अलिकति मित मितिनीका लागि
अनि अलिकति साली, सोल्टिनीका
लागि पनि त हो नि म !
अरु अलिकति नर–नाता र शुभ–चिन्तक पनि छन्
अनि समग्र साथि समुहका लागि पनि
अलिकति बाँडोको छु मलाई ।
अलिकति सुखमा हाँसेर
धेरै दुःखमा बाँचेर
अलिकति माया बाँड्छु
अलिकति दया थाप्छु
त्यो पनि त भिख नै हो नि
अलिकति शिक्षा लिन्छु
धेरैलाई ज्ञान दिन्छु
त्यसैले म मानव
अलिकति स्वार्थ लुकेकै हुन्छ
त्यसैले त म दानव ।
अलिकति आशावादी
अलिकति निराशावादी
अलिकति शान्तिमा रमाउने
अलिकति क्रान्तिमा रमाउने
केबल खानकै लागि पनि
अलिकति बाँँच्नु छ
बाँच्नकै लागि पनि त
अलिकति खानु छ ।
अलिकति साम्यवाद
अलिकति सामन्तवाद
अलिकति विकाशका कुरा
अलिकति विनाशका कुरा
अलिकति घरवार र दरवारका कुरा
फेरी सल्बलाउँछ दानवता
अलिकति तरवारका कुरा ।
उही हो चलन,
उही हो
अलिकति हर्षमा हाँस्छु
अलिकति स्वार्थमा रुन्छु
सबैका लागि अलि अलि
बाँड्दा बाँड्दै
म त खालि
खोक्रो जीवन जिउने
अभियानमा अलिकति
बाँचेको छु
त्यो पनि
मृत्युलाई साँचेर राखे सरह छ
आफ्नो अधिकार छैन
त्यसैले त होला मृत्यु पनि
आज सम्म मेरै प्रतिक्षामा
अलिकति पर्खिरहेछ
म अझै जिवित छु
केवल भानु बन्ने उही झिनो
आशा बोकेर ।
नेचा, सोलुखुम्बु

