सभामुख घिमिरेसंँग देउवाले भने- ‘संसदीय छानबिन समितिको अडानबाट पछाडि हट्न सकिंदैन’



काठमाडौं।सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग नीति तथा कार्यक्रमको तयारीबारे छलफल गर्नुभएको छ ।

सोमबार दिउँसो भएको भेटमा सभामुख घिमिरेले कांग्रेस सभापति देउवा र रास्वपा सभापति लामिछानेलाई राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठक अघि नै राजनीतिक सहमति जुटाउन आग्रह गर्नुभएको हो। उहाँले राष्ट्रप्रमुख उपस्थित हुने र अवलोकनका लागि कुटनीतिज्ञहरुलाई आमन्त्रण गरिसकेकाले सौहार्दपूर्ण वातावरण बनाउने भूमिका खेल्न अपिल गर्नुभयो ।

सभापति देउवाले आफूहरूले गृहमन्त्रीको राजीनामा माग नगरेको बताउँदै संसदीय छानबिन समितिको अडानबाट पछाडि हट्न नसकिने बताउनुभयो । उहाँले सरकारले छानबिन समिति बनाउने अवस्था आए आगामी बैठकहरू स्वतः सुचारू हुने उल्लेख गर्नुभयो । सभापति देउवाले प्रतिपक्षीको आवाजलाई नजरअन्दाज गर्न नमिल्ने बताउनुभयो ।

रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई धन्यवाद दिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा आफूलाई बोल्न दिनुपर्ने भनाइ राख्नुभयो । जवाफमा सभामुख घिमिरेले बैठकमा बोल्ने वातावरण भए आफूले समय उपलब्ध गराउने जानकारी दिनुभयो ।

सभामुखले आज नै प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्षसँग छलफल गरिसक्नुभएको छ । उहाँले सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्