अझै तीन दिन भारी बर्षा हुने



काठमाडौं, २८ असार ।देशभर मनसुन थप सक्रिय बन्दै गइरहेको छ । केहि दिनदेखि विभिन्न जिल्लाका जनधनको ठूलो क्षति गराइरहेको बर्षा अझै केहि दिन जारी रहने मौसमविदले जनाएका छन् ।

अझै तीन दिनसम्म देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज ९आइतबार० देशभर सामान्यदेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशका थोरै ठाउँमा र गण्डकी प्रदेशको एक–दुई ठाउँमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातार पानी परेपछि इलाम, झापा, मोरङ, गोरखा, धादिङ, कास्की, स्याङजा, बागलुङ सिन्धुपाल्चोक र आसपासका साना खोलामा पानीको बहाव उच्च रहेको छ ।

कोशी र कन्काइमा पानीको सतह खतराको तहमा पुगेको छ भने कर्णालीमा पनि खतराको तह पार गर्ने अवस्था रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज दिउँसो र राति पनि प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशका थोरै ठाउँ र गण्डकी, प्रदेश–५ का एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार दक्षिणी क्षेत्रतर्फ नेपाल नजिकै रहेको मनसुनको न्यून चापीय रेखा केही तल सर्ने र वर्षाको मात्रा थोरै कम हुने सम्भवना देखिएको छ।

प्रतिक्रिया दिनुहोस्