सुनसरी घटनाप्रति पूर्बराजाको चिन्ता,राष्ट्रिय एकता र सामाजिक सद्भावको भावना बलियो बनाउन आग्रह
काठमाडौं,१४ साउन । पूर्बराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले नेपाली समाजको मौलिक पहिचान आपसी मेलमिलाप,धार्मिक सहिष्णुता र सामाजिक सद्भाव रहेको उल्लेख गर्दै सबै नेपालीलाई एकता र सामञ्जस्य कायम राख्न आग्रह गर्नुभएको छ।

बुधबार जारी गरिएको सद्भाव सन्देशमा पूर्बराजा शाहले नेपाल निर्माणको सुरुदेखि नै नेपालीहरू विभिन्न जातजाति,भाषा,धर्म र संस्कृतिकाबीच आपसी प्रेम,सद्भाव र सहअस्तित्वका साथ बस्दै आएको उल्लेख गरेको वहाँको सम्बाद सचिवालयले जनाएको छ । यही बहुजातीय,बहुभाषिक,धार्मिक तथा सांस्कृतिक विविधताकै कारण नेपालले विश्वमा सम्मानजनक पहिचान बनाएको भन्दै यस विशिष्टतालाई कुनै पनि कारणले कमजोर हुन दिन नहुनेमा वहाँले जोड दिनुभएको छ।
सन्देशमा केही दिनअघि सुनसरी जिल्लाका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको तथा त्यसको प्रभाव कोशी क्षेत्र हुँदै तराईका विभिन्न स्थानसम्म फैलिन सक्ने अवस्थाप्रति दुःख व्यक्त गरिएको छ। नेपाल जस्तो सामाजिक सद्भावका लागि परिचित मुलुकमा यस्ता अवाञ्छित घटना हुनु चिन्ताको विषय भएको वहाँको भनाइ छ।
पूर्वराजा शाहले यस्ता घटना नेपाली समाजका मौलिक मूल्य,मान्यता र सामाजिक संस्कृति विपरीत रहेको उल्लेख गर्दै देशका जुनसुकै भूभागमा रहेका सबै नेपालीलाई मिलेर बस्न तथा आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। वर्तमान परिस्थितिमा यही नै सबैभन्दा ठूलो आवश्यकता रहेको
सन्देशमा उल्लेख छ।वहाँलेसम्पूर्ण नेपालीमा राष्ट्रिय एकता र सामाजिक सद्भावको भावना बलियो बनाउन आह्वान गर्नुभएको छ।

