सत्तारुढ जसपा नेपाल बिभाजित,आफ्नो पक्षमा बहुमत रहेको अशोक राईको दावी
काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ। अशोक राईसहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएसंगै यो औपचारिक रूपमा बिभाजन भएको हो।

वरिष्ठ नेता अशोक राई आफ्नो पक्षमा बहुमत रहेको दाबीसहित नयाँ दल दर्ताको निवेदन लिएर आइतबार अपरान्ह निर्वाचन आयोग पुगेका थिए ।
हाललाई नयाँ दलको नाम जसपा मात्र राखिएको बताइको छ ।
नयाँ पार्टीको संघीय परिषद्को अध्यक्ष राजेन्द्र श्रेष्ठलाई बनाइएको छ ।संघीय परिषद्पछि केन्द्रीय समितिको अध्यक्ष अशोककुमार राई र सहअध्यक्षमा रेणुकुमारी यादवलाई राखिएको छ ।
त्यस्तै चार जना उपाध्यक्ष्यमा जनध्वज कङ्दङ्वा, नवलकिशोर साह,परशुराम बस्नेत र सुशीला श्रेष्ठ रहेको राजेन्द्र श्रेष्ठले बताए ।
पार्टीको महासचिवमा मोहम्मद इश्तियाक राई हुनेछन् ।
प्रतिनिधिसभामा हाल जसपाका १२ सांसद छन् । तीमध्ये विभाजनको पक्षमा ८ जना सांसद रहेको दावी राई समूहको छ । अशोककुमार राई, नवलकिशोर साह, रञ्जु ठाकुर,हसिना खान,वीरेन्द्र महतो, सुशीला श्रेष्ठ,प्रदीप यादव लगायतका सांसद दल दर्ताको निवेदन लिएर आयोग पुगेका थिए।
साह संघीय सरकारमा वन तथा वातावरण मन्त्री समेत छन् ।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिकाको भ्रमणमा छन् । उनी आजै राति नेपाल फर्कने कार्यतालिका छ ।

