पञ्चनका आगलागी पीडित परिवारलाई नेचासल्यान गाउँपालिकाको राहत
सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाले छिमेकी गाउँपालिका थुलुङ दुधकोशी पन्चनका आगलागी पीडित तीन परिवारलाई राहत उपलब्ध गराएको छ ।

गाउँपालिका अध्यक्ष धनजन राईसहितको टोलीले घटनास्थलमै पुगेर बिहिवार अति प्रभावित तीन परिवारलाई नगदसहित खाद्यान्न सहयोग गरेका हुन । पालिका अध्यक्ष धनजन राई र उपाध्यक्ष विना राईले पन्चन वडा कार्यालय पुगेर प्रति परिवार नगद १० हजार सहित खाद्यान्नका सामाग्री राहत स्वरूप हस्तान्तरण गर्नुभएको नेचासल्यान गाउँपालिकाले जनाएको छ।
बुधवारको आगलागीबाट पन्चनका १० घर जलेर नष्ट भएका थिए ती मध्य अति प्रभावित ३ परिवार बडिसुवा राई, हस्तीमाया राई र पूर्ण बहादुर अधिकारीलाई नगद तथा खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
पीडित परिवारलाई बिहिवार नै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुले पनि राहत उपलब्ध गराएको छ ।
रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुका उपसभापति रोहित बाँस्तोला सहितको टोलिले अग्नीपिडित ३ परिवारलाई लत्ताकपडा, भाँडावर्तन र खाद्य सामाग्री उपलब्ध गराएको हो । सो क्रममा उपशाखा नेचाबेतघारीका पदाधिकारीको पनि उपस्थिति रहेको थियो । यसअघि थुलुङ दुधकोसी गाउँपालिकाले पनि आजै पीडित परिवारलाई प्रति परिवार ५० हजार नगद र अन्य राहत सामाग्री प्रदान गरेको छ ।
पछिल्लो समय नेचासल्यान र थुलुङदुधकोशीमा आगलागीका घटनाहरु बढ्दै गएका छन्।बिहिवार नेचासल्यान-२ दोदीमा ज्ञानबहादुर खत्रीको २ वटा घर जलेर नष्ट भएका छन्।सोही वडामा केहि दिन अघि आगलागीका कारण ५ घर र एउटा मतान घर जलेर नष्ट भएका थिए । थुलुङ दुधकोशीका कतिपय जंगल क्षेत्रमा ढढेलो लागि रहेका कारण स्थानीयबासी त्रसित छन्।

