नेपालमा क्षयरोगीहरुको संख्या बढ्दै
काठमाडौं ।हरेक वर्ष मार्च २४ मा विश्वभर मनाईने क्षयरोग दिवस आज बिबिध कार्यक्रम गरि मनाईदैंछ।यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने तय गरिएको छ ।आज होली पर्व परेका कारण नेपालमा भने यस बर्ष शुक्रबार नै विविध जनचेतनामुलक कार्यक्रम गरि बिश्व क्षयरोग दिवस मनाईएको छ।

दिवसका अवसरमा शुक्रबार प्रभातफेरि सहित विभिन्न कार्यक्रमको आयोजना गरिएको नेपाल क्षयरोग केन्द्रका निर्देशक डा.प्रज्ज्वल श्रेष्ठले जानकारी दिनुभयो।यसअघि बिहिवार ठिमीस्थित क्षयरोग केन्द्रको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक डा.श्रेष्ठले नेपालमा क्षयरोगको अवस्था र नियन्त्रणका लागि चालिएका र चालिने कदमबारे जानकारी दिनुभएको थियो।
नेपाल सरकारले सन् २०५० सम्म क्षयरोग उन्मूलन र २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने लक्ष्य लिएपनि अझै पनि क्षयरोगका नयाँ विरामी थपिने क्रम भने बढ्दो रहेको डा.श्रेष्ठको भनाई थियो।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार विगतका वर्षमा २० देखि ३० हजारसम्म नयाँ क्षयरोगी थपिने गरेकामा पछिल्लो एक वर्षमा नेपालमा ७० हजारभन्दा बढी बिरामी थपिएका छन् ।
नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर भएकाले क्षयरोग नियन्त्रणमा चुनौती देखिएको छ । क्षयरोग नियन्त्रणका लागि सरकार तथा विभिन्न गैरसरकारी निकायको प्रयास रहे पनि नियन्त्रण गर्ने मामिलामा चुनौती देखिएको वहाँको भनाई थियो।
वहाँले लगातार दुई हप्ता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुने लक्षण क्षयरोगका कारण हुने बताउनुभयो।

