गार्माका कृषकहरुलाई तरकारीका बिरुवा नि:शुल्क बितरण



सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिका वडा नं ७ ले कृषकहरुलाई तरकारीका बिरुवाहरु नि:शुल्क बितरण गरेको छ।

वडा नम्बर ७ का वडा सदस्य बीरबहादुर तामाङ,गार्मा माध्यामिक विद्यालयका प्रधानाध्यापक बिनोदसिङ तामाङ लगायतले काउली, बन्दा र ब्रोकाउलीका बिरुवा बितरण गरेका हुन।बुधबार ५५ घरधुरीका कृषकहरुलाई ५ हजार तरकारीका गुणस्तरीय बिरुवा बितरण गरिएको ७ नं वडा कार्यालय गार्माले जानकारी दिएको छ।

गार्मालाई तरकारीमा आत्मनिर्भर बनाउन र तरकारी खेतीबाट कृषकहरुले आय आर्जन गर्न सकुन् भन्ने उद्देश्यले तरकारीका बिरुवा नि:शुल्क बितरण गरिएको वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताए।

हिमालयन केयर फाउन्डेसनको आर्थिक सहयोग र गार्मा माविमा बालीविज्ञान अध्ययनरत विद्यार्थीहरुको प्राविधिक सहयोगमा तरकारीका बिरुवा तयार गरिएको जानकारी उनले दिए।

गोलभेडा लगायत अन्य तरकारीका बिरुवाहरु एक हप्ता भित्र तयार हुने र करिब २० हजार गोलभेडाको बिरुवा चाडैं नै नि:शुल्क वितरण गरिने पनि वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्