थाल र चम्चासहित सडक व्यापार व्यवसायीहरुले कामनपा घेराउ गर्ने
काठमाडौँ। काठमाडौ महानगरपालिकाको निर्णयबिरुद्ध आन्दोलनरत संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले थाल चम्चा सहित ठुलो जनसहभागितामा सडक आन्दोलन तथा महानगर घेराउ गर्ने घोषणा गरेको छ।

वृहत् सडक आन्दोलनसहित काठमाडौँ महानगर घेराउ गर्ने तयारी गरेको संघर्ष समितिले माघ २८ गतेका लागि सो कार्यक्रम तय गरेको जनाएको हो।शुक्रवार समितिले काठमाडौँमा पत्रकार सम्मेलन गरी माघ १५ गते महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएर १६ गते व्यापक जनप्रदर्शनसहित महानगरमा धर्ना दिने र बिचमा सबै फुटपाथ व्यवसायीहरूलाई एक ठाउँमा ल्याएर माघ २८ गते वृहत् सडक आन्दोलन गर्ने कार्यक्रम तय गरिएको जानकारी गरिएको हो।
नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले स्वरोजगार श्रमिकको अधिकार स्थापित गर्नको लागि माघ १७ गते जिल्ला प्रशासन कार्यालय, १८ गते गृह मन्त्रालय, १९ गते प्रधानमन्त्री कार्यालयमा र प्रमुख दलका पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत रहेको बताए ।

