अन्तर्राष्ट्रियस्तरको ‘एभरेस्ट भ्यू ट्रेल ग्लोबल म्याराथन’ आयोजना गर्दै माप्यदुधकोशी गाउँपालिका
सोलुखुम्बु।गाउँपालिकाको आर्थिक समृद्धिका लागि पर्यटन बिकासलाई प्राथमिकतामा राखेर गतिविधि अगाडी बढाईरहेको माप्यदुधकोशी गाउँपालिकाले ४२ किलोमिटरको ‘एभरेस्ट भ्यू ट्रेल ग्लोबल म्याराथनको आयोजना गर्ने भएको छ ।

पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य सहित आगामी चैतमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रियस्तरको सो प्रतियोगिताका लागि आज (सोमबार)पदमार्ग रेकिको काम सुरु गरिएको छ।गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको नेतृत्वको टोलीले सिलिगुडी डांडाबाट सुरु गरेको रेकी आजै सम्पन्न हुने टोलीमा सहभागी हिमालय माध्यमिक विद्यालयका शिक्षक राज राईले रहस्य खबरलाई जानकारी दिए।
रेकीमा क्वीन अफ अल्ट्रा म्याराथुन भनेर चिनिने धाविका मीरा राई र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा म्याराथुन धावकको परिचय बनाईसकेका तेन्जी शेर्पा सहभागी रहेको उनले बताए।
धावक शेर्पा सन् २०१८ मा आयोजना गरिएको ५० किमि म्याराथन,२०१८ मा हङकङको गुर्खा ट्रेल ब्लेजर र ६३ किमि बतासे ट्रेल म्याराथनका बिजेता हुन्।धावक शेर्पा र रेकीमा क्वीन अफ अल्ट्रा म्याराथुन राईले रेकिको शुभारम्भ कार्यक्रममा माप्यदुधकोशी गाउँपालिका भित्रका सात वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजयी विद्यार्थीहरुलाई म्याराथनका बिषयमा प्रशिक्षित गरेका थिए।
चैतमा आयोजना हुने सो म्याराथन प्रतियोगिता एभरेस्ट दुधकोशी कल्चर ट्रेलमा आयोजना गरिने छ।सिलिगुडी डांँडाबाट सुरु भएर सिलिगुडी डाँडामै समापन गरिने अन्तर्राष्ट्रिय स्तरको सो प्रतियोगितामा विभिन्न उमेर समूहका स्वदेशी तथा बिदेशी म्याराथन धावकहरुले सहभागी हुन पाउँने गाउँपालिकाको भनाई छ।
गाउँपालिकामा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले यसअघि गएको मंसिर २९ गते एभरेस्ट दुधकोशी कल्चर ट्रेल र त्यसको ठिक दुई दिनपछि गाउँपालिकाको महभीरमा रक क्लाईम्बिङ सेन्टरको उद्घाटन गरिएको थियो।रक क्लाईम्बिङ सेण्टरको उद्घाटन २८ पटक सगरमाथा र ४२ पटक ८ हजार माथिका हिमाल आरोहण गरेर बिश्वकिर्तिमान कायम गरेका कामीरिता शेर्पाले गरेका थिए।

