आफ्ना विभिन्न गतिविधि झल्कने तस्वीर र युनिट विशेष प्रदर्शनी गर्दै नेपाली सेना



काठमाडौँ। नेपाली सेनाले विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्वीर,हातहतियार र उपकरणको प्रदर्शनी गर्ने भएको छ। स्थापना दिवसका अवसरमा यही माघ ९ गतेदेखि १३ गतेसम्म सैनिक मुख्यालय जंगी अड्डा परिसरमा तस्वीर र युनिट विशेष प्रदर्शनी सञ्चालन गरिने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

अवलोकनकर्तालाई यही माघ ९ गते दिउँसो २ बजेदेखि ५ बजेसम्म र माघ १० गतेदेखि १३ गतेसम्म विहान १० बजेदेखि अपराह्न ५ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीबाट सर्वसाधारणलाई नेपाली सेनासम्बन्धी विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको प्रवक्ता भण्डारीले बताए।

प्रदर्शनीबाट सैनिकसम्बन्धी पोशाक, ब्याण्ड, हवाई सेवा, घोडचढी, जंगल र पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनासम्बन्धी जानकारी प्राप्त हुनेछ।सेनाद्वारा सञ्चालित विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयलगायतका गतिविधि र श्रव्यदृश्य सामग्रीसमेत प्रदर्शनी हुने जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्