नेचासल्यानमा संगै ठेक्का लागेको वडा नं-४ को प्रशासनिक भवन उद्घाटन, १ र ५ को निर्माण अलपत्र



सोलुखुम्बु।नेचासल्यान गाउँपालिका वडा नं-४ को नव निर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ।

गाउँपालिका उपाध्यक्ष बिना राईको अध्यक्षतामा बिहिवार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौला र बिशिस्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्षसमेत रहेका सोही गाउँपालिकाका पूर्ब अध्यक्ष डुफकुमार बास्तोलाले संयुक्त रूपमा वडा कार्यालयको सो प्रशासनिक भवनको उद्घाटन गरेका हुन्।

प्रशासनिक भवन उद्घाटनसंगै नयाँ भौतिक संरचना निर्माण गरी आफ्नै भवनबाट प्रशासनिक सेवा प्रदान गर्ने वडा नं-४ नेचासल्यानकै पहिलो वडा बनेको छ।०७८ सालको चैतमा कार्य सम्झौता गरेर बेतघारी कालिका सर्भिस प्रालिले ०७९ फागुनमै निर्माण सम्पन्न गरेपनि सो भवनको उद्घाटन झण्डै एक बर्षपछि गरिएको हो। संगै कार्य सम्झौता भएका गाउँपालिकाको वडा नं-१ र वडा नं-५ को प्रशासनिक भवन निर्माणको काम त्यत्तिकै अलपत्र छ।प्रशासनिक भवन निर्माणको जिम्मेवारी लिएको इन्जिनियरिङ कन्ट्रक्सन काठमाडौले फाउन्डेसन बाहेकको काम अगाडि नबढाउंँदा ती दुबै वडाले घर भाडामा लिएर प्रशासनिक सेवा प्रदान गरिरहेको बताईएको छ।

सोही गाउँपालिकाको वडा नं-२ र ३ भने पालिकाकै स्वामित्वमा रहेका भवनबाट सेवा प्रवाह गरिरहेका छन्।

१ करोड ८ लाख २२ हजार ८७९ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको वडा नं-४ को नव निर्मित सो प्रशासनिक भवनको भुँई तल्लामा ५ वटा कोठासंगै महिला-पुरुष शौचालय र पहिलो तल्लामा दुई वटा कोठा,स्टोर रुम र ५० जना भन्दा बढी अटाउने एउटा हल रहेको कार्यक्रममा जानकारी गराईएको थियो।

समयमै गुणस्तरीय काम सम्पन्न गरेको भन्दै निर्माण कम्पनीका प्रोपाइटर जगनाथ बास्तोलालाई कदर पत्र र जग्गादाता जंगबहादुर राईलाई दोसल्ला ओढाएर सम्मानित गरिएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि निरौला,बिशिस्ट अतिथि बास्तोला,गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज पोखरेल,वडाध्यक्षहरु र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्