जिल्ला कमिटी पदाधिकारी तथा सदस्यको उम्मेदवारका लागि एमालेले तोक्यो यस्तो मापदण्ड
काठमाडौं।पार्टी जिल्ला अधिबेशनको चहलपहल सुरु भएसंगै नेकपा(एमाले)ले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको उम्मेदवारका लागि मापदण्ड तोकेको छ ।

प्रदेश र जिल्ला कमिटीलाई परिपत्र जारी गर्दै एमाले महासचिव शंकर पोखरलेले जिल्ला कमिटीका लागि तोकिएको मापदण्डबारे जानकारी गराउनु भएको हो।पार्टीको विधान अनुसार जिल्ला र सो मातहतका कमिटीको पदाधिकारी तथा सदस्य पदका लागि उम्मेदवार हुने मापदण्ड तोक्ने अधिकार सम्बन्धित तहको अधिवेशनलाई प्रदान गरिएको भएपनि कतिपय ठाउँमा मापदण्ड नतोकी अधिवेशन गर्ने गरेकाले केन्द्रले नै तोकेर पठाएको एमालेले जनाएको हो ।
महासचिव पोखरेलले जारी गर्नुभएको परिपत्र अनुसार जिल्ला कमिटीको पदाधिकारी पदमा उम्मेदवार हुन पार्टी सदस्य भएको ५ वर्ष पुगेको हुनुपर्ने छ । यस्तै एक कार्यकाल जिल्ला कमिटीको सदस्य वा सो सरहको भूमिका निर्वाह गरेको हुनुपर्ने छ । जिल्ला कमिटीमा सदस्यको उम्मेदवार हुन पार्टी सदस्यता लिएको ३ वर्ष पूरा गरेको वा पालिका कमिटी सदस्य वा वडा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने परिपत्रमा उल्लेख छ ।
यस्तै प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष जिल्ला कमिटीको अध्यक्ष तथा सचिव पदमा उम्मेदवार बन्न नमिल्ने यसअघिको केन्द्रीय कमिटीले निर्देशन दिएको थियो । यसअघि सम्पन्न भएका एमाले प्रदेश अधिवेशनमा पनि अध्यक्ष र सचिव पदमा जनप्रतिनिधिहरुले उम्मेदवार हुनु पाउनुभएको थिएन ।

