माघी : काठमाडाैकाे टुँडिखेलमा भागदौड हुंदा च्यापिएर एघार जना घाइते (नामावली सहित)



काठमाडौं।काठमाडाैकाे टुँडिखेलमा माघी मनाउने क्रममा भीड अनियन्त्रित भएपछि च्यापिएर ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार यसरी घाइते हुनेमा खोटाङ हलेशी तुवाचुङ नगरपालिका १० घर भई ललितपुरको पाटनढोका बस्ने वर्ष १२ की त्रिसना मगर, सिन्धुपालचोक घर भई ललितपुरको चामुण्डा बस्ने वर्ष १२ की अञ्जना  तामाङ, धादिङको गंगाजमुना गाउँपालिका ५ घर भई काठमाडौँको फुटुङ बस्ने वर्ष १९ की रेजिना घले, धनकुटा घर भई ललितपुरको चाखुपाट बस्ने वर्ष १६ की निकिता मगर, बर्दिया राधापुर नगरपालिका १ घर भई काठमाडौँको नयाँबजार बस्ने वर्ष ३० की रेखा चौधरी रहेका छन्।

सोही भागदौडका क्रममा प्युठान खलङगा गाउँपालिका ४ घर भई काठमाडौँको फुटुङ बस्ने वर्ष १६ की अनिसा केसी, कैलाली भजनिया नगपालिका ३ घर भई ललितपुरको भैसेपाटी बस्ने वर्ष २५ वर्षकी कल्पना चौधरी, सुनसरीको धरान उपमहानगरपालिका ३ घर भई काठमाडौँको बनस्थली बस्ने वर्ष २२ की मन्दिरा बस्नेत पनि घाइते भएका छन्। 

यस्तै अन्य घाइते हुनेमा ललितपुर महानगरपालिका २२ बस्ने वर्ष ४० की मीना थापा, कैलाली घोडाघोडी गाउँपालिका घर भई काठमाडौँको सीतापाईला बस्ने वर्ष १९ की रिजा रेस्मी मगर र रोल्पा घर भई कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्रहरी जवान पृथ्वी बुढामगर रहेका प्रहरीले जनाएको छ।

टुँडिखेलको गेटबाट भित्र जाने र बाहिर निस्कने क्रममा अनियन्त्रित भीडमा च्यापिएर उनीहरू घाइते भएका जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले जानकारी दिनुभयो । भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।

घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी ढुंगेलले बताउनुभयो । मगर र थारु समुदायका व्यक्तिहरू टुँडिखेलमा माघी मनाउन भेला भएका थिए ।

प्रतिक्रिया दिनुहोस्