बीपी कोइराला निर्बासित जीवन त्यागेर स्वदेश फर्किएको दिन आज , कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउदैं
काठमाडौं।आज पौष १६ गते। नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला आठ वर्षको निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन।यस दिनको सम्झनामा नेपाली कांग्रेसले हरेक बर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ दिवस मनाउदै आएको छ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई २०१७ पुस १ गते अपदस्थ गरि तत्कालीन राजा महेन्द्रले नयाँ सरकार गठन गरेपछि करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो। त्यससँगै आठ वर्षको सुन्दरीजल जेलमा राखिएका उनलाई २०२५ मा उपचारका लागि भन्दै मुक्त थियो। रिहापछि उपचारका लागि भारत पुगेका कोइराला ८ बर्षपछि राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए।
दक्षिण एसियामा देखिएको राजनीतिक संक्रमणबाट देश बचाउन भन्दै उनी २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए। मुलुकको सार्वभौम सत्तारक्षाका लागि राजनीतिक दल र राजा मिल्नुपर्ने धारणा बनाएर उनी नेपाल फर्किएका थिए।तर बिपी कोइरालाको सो नीति नेपाली कांग्रेसले १७ बर्ष अघि नै परित्याग गरिसकेको सो पार्टीकै कतिपय नेताहरुले बताउने गरेका छन्।
यो दिवसको अवसरमा नेपाली कांग्रेसले सोमबार प्रज्ञा भवनमा विमर्श सभा गर्ने भएको छ।
‘संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउन दलहरूबीच मेलमिलाप’ नाम दिइएको सभा दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा कार्यक्रम शुरु हुने कांग्रेसको प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए। बीपी मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिनलाई आधार मानेर संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउन दलहरूबीच मेलमिलाप गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागेको उनले बताए।
कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ता रहनेछन्। यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि धारणा राख्नेछन्।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टी लगायतलाई भने निम्तो गरिएको छैन।

