बालकुमारी घटनामा लापरबाही गरेको भन्दै केहि कर्मचारी र सुरक्षाकर्मी निलम्बित



काठमाडौं। ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी शुक्रबार भएको घटनामा लापरबाही गरेको भन्दै सरकारले केही कर्मचारी र सुरक्षाकर्मीलाई निलम्बन गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ईपीएस कोरिया शाखा, ग्वार्कोका प्रमुखलाई जिम्मेबारीबाट हटाइएको जानकारी दिएका छन्। यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) र विरोध प्रदर्शनमा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी (प्रहरीका डीएसपी)लाई पनि निलम्बन गरिएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन्।

ट्रेड युनियन आन्दोलन र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त जानकारी दिएका हुन्।

घटनामा लापरबाही देखिएकाहरुमाथि अनुसन्धान भइरहेको र अनुसन्धान नसकिए सम्मका लागि उनीहरुलाई निलम्बन गरिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।निलम्बन गरिएकाहरुमा प्रहरी बृत्त सातदोबाटोका प्रमुख, डीएसपी उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवार छन्।

यस्तै, ईपीएस शाखाका प्रमुख गुरूदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय पनि गरिएको हो।

शनिबारको बैठकले ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई थप अनुसन्धानका लागि गृह मन्त्रालय तानिएको छ। यस्तै, ललितपुरका प्रहरी प्रमुख सिद्धीविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानिएको छ।

सन् २०२३ मा रोजगारीका लागि कोरिया जान पानीजहाज क्षेत्रमा आवेदन दिएका युवाहरुले रोजगारी अनुमति प्रणाली (ईपीएस)को परीक्षा दिन नपाउने व्यवस्थाको विरोध गर्दै शुक्रबार दिउँसो बालकुमारी–ग्वार्को क्षेत्रमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरुले सार्वजनिक सवारीका साधन तोडफोड गर्नुका साथै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्