गैह्रीगाउँ सामूहिक हत्याकाण्ड : एकजनासंँगको रिसइबिले चारजनाको हत्या



काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्या सिसिटिभी फुटेजको आधारमा पक्राउ परेका सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीले गरेको खुलेको छ।

बोल्न नसक्ने अन्दाजी २२–२३ वर्षका भण्डारीसंग दोभाषेमार्फत प्रहरीले सोधपुछ गर्दा नवीनले केही समयअघि आफूलाई मोटरसाइकलले ठक्कर दिएको र त्यस विषयमा कुरा गर्न जाँदा दुर्व्यवहार गरेका कारण उनको हत्या गरेको र घटनाको रहस्य खुल्ने डरले अरुको पनि हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ ।

तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो ।

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राई रहेका छन् । उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट लागेको पाइएको थियो ।

हत्या गरिएको घटनाको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो

प्रतिक्रिया दिनुहोस्