६१ किलो सुन तस्करी : २९ जनाबिरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता



काठमाडौं।त्रिभुवन विमानस्थलबाट पक्राउ परेको ६१ किलो सुन तस्करी प्रकरणमा २९ जनाबिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। सरकारी वकिलले पेस गरेको अभियोगपत्र दर्ता भएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिए।

सुन तस्करी प्रकरणमा ५० जना संलग्न रहेको प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) को निष्कर्ष थियो । प्रतिवादी बनाइएका २९ मध्ये २६ जना प्रहरी हिरासतमा छन् भने तीन जना फरार छन् । यसअघि ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये छ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो ।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको स्कुटरको ‘ब्रेक शु’ राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यही ‘ब्रेक शु’ भित्र ६० किलो सात सय १६ ग्राम बरामद भएको हो । प्रहरीले आरोपीमाथि बरामद भएको बाहेक अरू सुन पनि तस्करी गरेको आरोप लगाएको छ ।

आरोप पत्रअनुसार उनीहरूले तीन सय ६२ किलो सात सय ७८ ग्राम सुन तस्करी गरेका छन् । सबै आरोपीमाथि सुन तस्करी गरेकोमा तीन अर्ब ५० करोड दुई लाख रुपैयाँ, ‘ब्रेक प्याड’ को भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रुपैयाँ गरी कुल बिगो तीन अर्ब ५० करोड ३० लाख रुपैयाँ रहेको जिल्ला अदालतमा पेस भएको अभियोग पत्रमा उल्लेख छ ।

सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन गएको बुधवार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । यो मुद्दामा थप अनुसन्धान चलिरहेको सीआईबीले जनाएको छ । मुद्दा दर्ताको प्रक्रियामा रहेको जिल्ला अदालत काठमाण्डौले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्