काठमाडौंमा एकै परिवारका तीनसहित चारजनाको विभत्स हत्या,चार जना नियन्त्रणमा



काठमाडौं।काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा चार जनाको विभत्स हत्या भएको छ।

तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य सः फर्निचर मिलका सुरक्षागार्डको परिवारका तीन र अर्का एक गरी चारजनाको शुक्रबार मध्यराति हत्या गरिएको हो।मिलमा विभत्स रुपमा हत्या गरिएको अवस्थामा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका र ७६ वर्षीया आमा सुमित्रा रहेका छन्।

कुमारको परिवारबाहेक त्यहाँ मोरङका बेलबारीका १९ वर्षका नवीन राईको पनि शव भेटिएको थियो।

प्रहरीका अनुसार हत्या भएका सबैको टाउकोमा धारिलो हतियार प्रहार गरिएको छ भने शरीरका विभिन्न अंगमा पनि चोट देखिएको छ।

अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगेपछि मात्रै घटना बाहिरिएको थियो।उक्त हत्याको अनुसन्धानका लागि प्रहरीले धनकुटाका २४ वर्षीय दीपेन्द्र राईसहित चार जनालाई नियन्त्रणमा लिएको छ। घटनापछि राई आफै ट्याक्सीमा तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेर घटनाबारे जानकारी गराएका थिए। तर उनको लुगा र जुत्तामा रगत देखिएपछि सोधपुछका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनास्थलमा मुचुल्का उठाउने लगायतको काम सकेर शव पोस्टमार्टमाका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ। तालिमप्राप्त कुकुरसहित प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। कुकुरले हत्यामा संलग्न व्यक्ति भक्तपुरतिर भागेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्