आजबाट खुल्यो मिड सोलु हाइड्रोपावरको आइपिओ
काठमाडौं। मिड सोलु हाइड्रोपावर लिमिटेडको आइपियो आजदेखि भर्न पाईने भएको छ।आईपिओका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ। यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
अब दोस्रो चरणमा कम्पनीले १४ हजार ९६८ कित्ता शेयर कर्मचारीहरुका लागि ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।
यो आईपीओ बन्द छिटोमा असोज १ गतेसम्म र ढिलोमा असोज ११ गतेसम्म हुनेछ ।

