बालबालिकाहरूको उचित संरक्षण र रेखदेख सबैको कर्तव्य : राष्ट्रपति पौडेल
काठमाडाै। राष्ट्रपति रामचन्द्र पौडेलले बालबालिकाहरूको उचित संरक्षण र रेखदेख सबैको कर्तव्य भएको बताउनु भएको छ ।

राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पौडेलले सो कुरा बताएका हुन्।केही बालबालिका अझै पनि आफ्नो बालअधिकारबाट वञ्चित रहेको भन्दै सो कुरा बताएका हुन्।
‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’भन्ने नाराका साथ आज राष्ट्रिय बालदिवस मनाईंदैछ ।
नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ ।
२०२२ सालदेखि भदौ ४ गते मनाउन शुरु गरिएको बाल दिवस २०६३ साल पछि भने भदौ २९ गते मनाउन थालिएको हो । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ ।
तर बालबालिकाको अधिकारको क्षेत्रमा लगानी घट्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।पालिकाहरुले विनियोजन गर्नुपर्ने बजेट पनि अनिवार्य नगर्दा बालबालिकाको समग्र क्षेत्रमा असर पर्न थालेको छ ।
बालअधिकारकर्मीहरुले तीनै तहका सरकारले बालबालिकाको क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिएका छन् ।

