हङकङबाट सुन तस्करीका लागि नेपालमा ७ वटा कम्पनी खडा गरेको सीआईबीको खुलासा



काठमाडौं ।हङकङबाट नेपालमा सुन तस्करीका लागि ७ वटा कम्पनी खडा भएको खुलेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खुलासा गरेको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीका एसपी सञ्जयसिंह थापाले सुन तस्करीमा ७ वडा कम्पनी खडा भएको जानकारी दिएका हुन् ।

सिआबीईले ७ वटा कम्पनी सुन तस्करीका लागि खडा गरिएको जनाएको छ। ती कम्पनीमा लेखनाथ कार्की डोली सञ्चालक रहेको चुङगक इलेक्ट्रिक सप्लायर्स काठमाडौँ, रामकुमार भुजेल सञ्चालक रहेको भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, कुमारबहादुर भुजेल सञ्चालक रहेको हवडा इलेक्ट्रिक सप्लायर्स प्रालि छन्।

यसैगरी रामबहादुर भुजेल सञ्चालक रहेको पवाटी इलेक्ट्रिक सप्लायर्स प्रालि, बिकुन्द्र भुजेल सञ्चालक रहेको दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि, दिलिप भुजेल सञ्चालक रहेको रेडी ट्रेड प्रालि र सरिता तामाङ सञ्चालक रहेको सरिता सप्लायर्स छन्। यी कम्पनीहरू मार्फत सुन तस्करी भएको सीआइबी प्रतिवेदनमा जनाइएको छ। सिआइबीले हालसम्म नेपाली तथा विदेशी नागरिक गरी ३२ जना प्रतिवादीहरूलाई पक्राउ गरेको पनि जनाएको छ ।

सिआईबी प्रतिवेदन अनुसार ८ जना त्रिभुवन भन्सार कार्यालयका कर्मचारीहरू, ४ जना भन्सार एजेन्ट, ३ जना कार्गो एजेन्ट, ट्याक्सी चालक १ जना, भाषा अनुवादक-काेटा खोज्ने १ जना, कम्पनी खोल्ने २ जना, कम्पनी खडा गर्ने-माल वस्तु व्यवस्थापक २ जना र सुनको कारोबारमा संलग्न ११ जनालाई पक्राउ गरेको छ।

यसअघि ब्युरोले (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो। सरकारी वकिलले सीआईबीको अनुसन्धान प्रतिवेदनमा अध्ययन गरेर शुक्रबारसम्म जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गर्ने तयारी गरेको छ।

थुनामा रहेका ३२ जनामध्ये २६ जनालाई मात्र प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ। रोल्पा घर भएकी अमला रोकासहित १८ जनालाई फरार प्रतिवादी कायम गरिएको छ ।

रेडी ट्रेड प्रालिले ६० किलोभन्दा बाहेक ३०२ किलो सुन तस्करी गरेर काठमाडौँ ल्याएको सीआइबीको अनुसन्धाानमा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्