माबि शिक्षक हुन स्नातकोत्तर अनिवार्य,गणित, विज्ञान र कम्प्युटरको अध्यापन अंग्रेजी भाषामा



काठमाडौं । सरकारले माध्यमिक तहको शिक्षक बन्न अनिवार्य स्नातकोत्तर(माष्टर्स डिग्री) पास गरेकाे हुनुपर्ने व्यवस्था गरेको छ।बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनिवार्य स्नातकोत्तर पास गर्नुपर्ने व्यवस्था उल्लेख छ।

विधेयकमा उल्लेख भएअनुसार आधारभूत तहको साधारण शिक्षकको हकमा जुनसुकै विषयमा स्नातक तह तथा विषयगत शिक्षकको हकमा सम्बन्धित विषयमा स्नातक तह र माध्यमिक तहको शिक्षकको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ।यसअघि स्नातक उतीर्ण गरेकाले माध्यमिक तह शिक्षक बन्न पाएका थिए।

यस्तै,शिक्षकहरूले गणित, विज्ञान र कम्प्युटर विषयलाई अंग्रेजी भाषामा मूल विषयको रूपमा पढाउनुपर्ने व्यवस्था गरिएको छ।

विधेयकको शिक्षण माध्यमभाषामा भनिएको छ,‘शिक्षणको माध्यमभाषा नेपाली, संस्कृत, मातृभाषा वा अङ्ग्रेजी हुन सक्नेछ,उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि गणित, विज्ञान र कम्प्युटर विषयलाई अंग्रेजी भाषामा मूल विषयको रूपमा पढाउने।’

यस्तै, कुनै विदेशीले नेपालमा अध्ययन गर्दा अनिवार्य नेपाली विषयको सट्टा निजले चाहेमा पाठ्यक्रममा निर्धारित भाषामध्ये कुनै एक भाषागत विषय अध्ययन गर्न सक्ने पनि व्यवस्था गरिएको छ।‘नेपाली मौलिक कला, संस्कृति, सभ्यता, सामाजिक रहनसहन समेटिएका सामाजिक अध्ययनका विषयहरू नेपाली वा मातृभाषाको माध्यमबाट अध्यापन गराउनुपर्ने छ,’विधेयकमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्