हर्क साम्पाङको अर्को बिबादित काम,आफुलाई प्रश्न सोध्ने ब्यक्तिलाई नगर प्रहरी लगाएर गरे पक्राउ



धरान।पछिल्लो समय अत्यन्तै विवादित बन्दै गएका धरानका मेयर हर्क साम्पाङले प्रश्न सोधेकै भरमा एक जनालाई पक्राउ गराएका छन्।

मेयर साम्पाङलाई प्रश्न सोधेकै कारण शुक्रबार अशोक लिम्बुलाई नगरप्रहरी लगाएर पक्राउ गराएका हुन्।शुक्रबार धरान-१५ मा लागूऔषध सचेतना गरिरहेका मेयर साम्पाङलाई डेंगुले मान्छे मरिरहेको अवस्थामा तपाईं बाटोमा अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोधेपछि उनलाई पक्राउ गरिएको प्रत्यक्षदर्शीहरुको भनाई छ। लिम्बुलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ।

लिम्बु बिरुद्ध उजुरी भने कसैले दिएको छैन।लिम्बुलाई पक्राउ गरि सकेपछि साम्पाङले शुक्रबार नै सामाजिक सञ्जालमा लेकेका थिए-‘बदमासलाई प्रहरी जिम्मा लगाइयो ! स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई छाडिने छैन !’

मेयर साम्पाङको निर्देशनमा नगर प्रहरीले लिम्बुलाई पक्राउ गरेर बुझाएपछि हिरासतमा राखिएको धरानका डीएसपी नवराज मल्लले बताए। उनले यस विषयमा अनुसन्धान भइरहेको बताए।

उता,किराँत याक्थुम चुम्लुङका राष्ट्रिय चुम्लुङ सदस्य ताजुव लिम्बुले तत्काल उनलाई रिहाइ नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए। उनले विगत केही दिनदेखि धरानका मेयर साम्पाङका अराजनीतिक, अराजक र गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न र धरानको सामाजिक सद्‍भाव कायम राख्न सरकारसँग माग गरेका छन्।

धार्मिक गतिविधि र सामाजिक सञ्जालमा उनले पोष्ट गर्ने सामाग्रीका कारण उनी पछिल्लो समय बिबादित छन्।धार्मिक तथा सामाजिक सद्भाव भड्काउन खोजिरहेको आरोप कतिपयले उनीमाथि लगाईरहेका छन् । (फोटो सामाजिक सञ्जाल)

प्रतिक्रिया दिनुहोस्