चिनियाँ राजदूत सोङको अभिव्यक्तिप्रति संसदमा मधेसबादी दलका सांसदहरु आक्रामक
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले दिएको अभिव्यक्तिप्रति मधेसबादी दलका सांसदहरू आक्रामक देखिएका छन्।

गएको शनिबार काठमाडौंमा नेपाल चाइना हिमालय फ्रेन्डसिप नेपाल नामक गैरसरकारी संस्थाद्वारा आयोजित कार्यक्रममा राजदूत सोङको ‘भारतजस्तो छिमेकी मुलुक नेपालले पाउनु दुर्भाग्य’ भन्ने अभिव्यक्तिप्रति मधेसबादी सांसदहरुले आपत्ति जनाएका हुन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले नेपालको परराष्ट्र नीति निर्धारण गर्ने अधिकार विदेशी मुलुकका राजदूतको नभएको बताए ।“विदेशी मुलुकको राजदूतले परराष्ट्र नीति निर्धारण गर्ने होइन । नेपालको कस्तो परराष्ट्र नीति राख्ने नेपालले आफैँ निर्धारण गर्ने हो,” उनले भने ।
चिनियाँ राजदूतको उक्त अभिव्यक्तिका विषयमा तत्काल स्पष्टीकरण सोध्नुपर्नेमा सांसद खानले जोड दिए । “उक्त राजदूतलाई परराष्ट्र मन्त्रालयले तुरुन्त स्पष्टीकरण लिनुपर्छ । तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग गर्दछु,” उनले भने ।
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी पार्टी (लोसपा)का सांसद सर्वेन्द्रनाथ शुक्लले पनि चिनियाँ राजदूतको अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले त्यसबारे परराष्ट्र मन्त्रालयले छिट्टै जवाफ दिनुपर्ने माग गरे ।
बुधबार खुकुरी प्रहार हुनुअघि नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पनि चिनियाँ राजदूतको अभिव्यक्तिबिरुद्ध आक्रामक ढंगले प्रस्तुत भएका थिए।

