खुल्यो ५० रुपैयाँ प्रति कित्ताको हाथवे इन्भेस्टमेन्टको आईपीओ, न्युनतम २० देखि अधिकतम १ लाख कित्तासम्म भर्न पाईने
काठमाडौं।हाथवे इन्भेस्टमेन्ट नेपालले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ।

कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको थियो।
कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।
यसैगरी कम्पनीले कुल कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यो आईपीओमा सर्वसाधारणले न्यूनतम २० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओको निष्कासन बन्द छिटोमा भदौ २५ गते र ढिलोमा असोज ४ गते हुनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्वा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

