जनप्रतिनिधिको भूमिकाबारे सोलु एमालेको समिक्षा,जनप्रतिनिधि र कार्यकर्ताको आ-आफ्नै गुनासो
काठमाडौं।प्रदेश तथा संघीय निर्वाचन सम्पन्न भएपछि नेकपा एमाले सोलुखुम्बुले पहिलो पटक निर्बाचित जनप्रतिनिधिको अहिलेसम्मको भुमिकाका सन्दर्भमा अन्तरक्रियात्मक समीक्षा कार्यक्रम आयोजना गरेको छ।

राजधानी काठमाडौंको सुकेधारास्थित नवदुर्गा पाटी प्यालेसमा बुधबार आयोजित जिल्ला कमिटीस्तरीय अन्तरक्रियात्मक समीक्षा कार्यक्रममा जनप्रतिनिधिसहित ५ दर्जन बढी जिल्लाका एमाले नेता कार्यकर्ताको उपस्थिति रहेको बताइएको छ।
सोलुखुम्बु जिल्लाबाट नेकपा एमालेका केन्द्रीय सदस्य मानबीर राई संघीय संसदको प्रतिनिधिसभा सदस्य तथा बुद्धिकुमार राजभण्डारी कोशी प्रदेश ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्बाचित भएका थिए। प्रतिनिधिसभा सदस्य राई र कोशी प्रदेशका पूर्बमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य राजभण्डारी अन्तरक्रियामा उपस्थित भए पनि सोलुखुम्बुबाटै राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पाको उपस्थिति थिएन।उनी अमेरिका भ्रमणमा रहेका कारण अनुपस्थित रहेको जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए।
नेकपा एमाले सोलुखुम्बुका इन्चार्ज किशोर अधिकारीको समेत उपस्थिति रहेको कार्यक्रममा उपस्थित जिल्ला कमिटी सदस्यहरुले जनप्रतिनिधिको अहिलेसम्मको भूमिका र निर्बाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा आ-आफ्नो धारणा राखेको बास्तोलाले बताए।
जिल्लामा नेकपा एमालेको संगठनलाई अझ सशक्त र फराकिलो बनाउने कि खुम्च्याउंदै लैजाने भन्ने कुरा जनप्रतिनिधिको कार्यशैली र भूमिकामा भर पर्ने उनीहरूको भनाई थियो। जिल्ला, गाउँ पार्टी कमिटी र कार्यकर्ताहरुसंग जनप्रतिनिधिको सम्पर्क र समन्वयात्मक भूमिका कमजोर हुँदै गएको हो कि भन्ने प्रश्न खडा हुन थालेका कारण यसलाई सुधार गरेर अगाडी बढ्न अधिकांश सहभागीले सांसदद्वयलाई सुझाव दिएको जिल्ला कमिटी सचिब आश कुमार राई ‘शिशिर’ ले रहस्य खबरलाई जानकारी दिए।
अनौपचारिक सो अन्तरक्रियामा कार्यकर्ताहरुले उठाएको प्रश्नको जवाफ दिंदै प्रतिनिधिसभा सदस्य राई र प्रदेश सभा सदस्य राजभण्डारीले प्रतिकूल राजनीतिक परिस्थितिका कारण सोचेजस्तो परिणाम हात पार्न नसकिए पनि निर्बाचनमा जनतासंग गरेका प्रतिबद्धता पूरा गर्न आफुहरु इमान्दार ढंगले क्रियाशील रहेको बताएका थिए।कार्यकर्ता तहबाट प्रचारमा बेवास्ता हुंदा कतिपय आफुहरुले गरेको कामको जस पनि अरुले लिइरहेको गुनासो उनीहरूको थियो।
एमालेको लोकप्रियताबाट अत्तालिएका देशीविदेशी शक्तिहरुले घेराबन्दी गरिरहेका बेला जनप्रतिनिधिहरुले गरेका सकारात्मक कामहरु जनतासम्म पुर्याउन सामाजिक सञ्जालमार्फत पोष्ट, सेयर र कमेन्ट गर्न सक्रियतापूर्बक लाग्न सांसदद्वय्ले आग्रह गरेको सचिब राईले बताए।जिल्लाका तत्कालीन र दीर्घकालीन समस्या तथा बिकास निर्माणका समग्र पक्षमा आफुहरुले संसदमा प्रभावकारी भूमिका निर्बाह गरिरहेको स्मरण गराउंदै उनीहरूले कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्न आफुहरु प्रतिबद्ध रहेको बताएका थिए।
कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष बास्तोलाले जनप्रतिनिधिहरुलाई सफल बनाउन जिल्ला पार्टी कमिटीको तर्फबाट हालसम्म निर्बाह गरेको भूमिकाको सन्दर्भमा प्रकाश पारेको पनि सचिब राईले जानकारी दिए।

