पूर्व केन्द्रीय सदस्य डा.कार्कीको निधनमा कांग्रेसले दुई दिन शोक मनाउने



काठमाडौं।नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको आज बिहान बसेको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले कार्कीको निधनमा विभिन्न शोक कार्यक्रम पनि तय गरेको छ । बैठकले आज र भोलि दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

यस्तै भोलि शुक्रबार केन्द्रदेखि जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने र स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरू शोक पुस्तिका राख्ने निर्णय गरेको छ । बैठकले स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ ।

कार्कीको हिजो भदौ ६ गते बुधबार निधन भएको थियो । कार्कीको पार्थिव शरीरलाई आज बिहान श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको थियो । कार्कीको अन्त्येष्टि आज नै पशुपति आर्यघाटमा गरिने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्