घाईते सडकमा ढलिरहँदा प्रहरी र यात्रु तस्वीर खिच्न व्यस्त, समयमा उपचार नपाउँदा गयो ज्यान



जिरी (दोलखा) । दुर्घटनामा परी गम्भीर घाईते भएका दोलखाको बैतेश्वर गाउँपालिकाका एक युवकले बाँच्ने सम्भावना हुँदाहुँदै ज्यान गुमाउनु परेको छ ।

सिन्धुपाल्चोकमा सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका बैतेश्वर गाउँपालिका –७ मार्वुका २३ वर्षीय विश्वराज श्रेष्ठले मुकदर्शक मानिसको भिडकै अगाडी छट्पटाएर ज्यान गुमाउन बाध्य भएका हुन् । मंगलवार दिउँसो करिब साँढे १ बजे काठमाडौंबाट दोलखा आउँदै गरेको पूर्व अरनिको यातायातको बा ३ ख ५३०८ नम्बरको बसले दोलखाबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ३–०२–०१३ प ३५८६ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।

लामोसाँगु जिरी सडकको सिन्धुपाल्चोकस्थित १६ किलो सडक खण्डमा दुर्घटनामा परी मोटरसाइकल चालक श्रेष्ठ गम्भिर घाईते भएका थिए । खुट्टामा उनको गम्भीर चोट लागेर रक्तश्राव भइरहेको थियो । तर, बसमा सवार यात्रु र स्थानीयवासीले घाईतेलाई उद्धार गर्नुको सट्टा मुकदर्श बनेर हेरिरहे । घाईते श्रेष्ठको बाँया खुट्टा काम नलाग्ने गरी भाँचिएको थियो । उनको शरीरवाट बगेको रगतले सडक रक्ताम्बय भएको थियो । उनले बोकेको कालो झोला वीच सडकमा अलपत्र थियो । खुट्टा नचलेपछि सडक किनारमा दुवै हात पछाडि टेकेर उद्धारको याचना गरिरहेका श्रेष्ठलाई कसैले पनि उद्धार गरेनन्। नजिकै जम्मा भएको भीडमा रहेका मानिसहरु तस्वीर र भिडियो खिच्न व्यस्त थिए भने कोही कम्मरमा हात समाएर बसेको दृश्य सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।
त्यो भीड यतिसम्म निर्दयी र मानवता शुन्य थियो की, कोही कसैले पनि घाईते श्रेष्ठको रगत बगिरहेको खुट्टामा कपडाले भए पनि बेरेर रक्तश्राव रोक्न सहयोग गरेनन् ।

दुर्घनास्थलवाट करिव एक किलो मिटरको दुरीमा रहेको पाखर प्रहरी चौकीका प्रहरी समेत ढिलोगरी घटनास्थल पुगेका थिए । प्रहरी पुग्दासम्म श्रेष्ठको शरीरवाट धेरै रगत बगिसकेको थियो । बसमा सवार यात्रुका अनुसार घाईतेले हेलिकोप्टर मगाई दिन आग्रह समेत गरेका थिए । उनको आग्रहलाई बसका यात्रु, स्थानीय र प्रहरीले सुनेको नसुने झैं गरे ।

ढिलोगरी घटनास्थल पुगेको प्रहरीले पनि घाईतेको उद्धार गर्न छाडेर तस्वीर र भिडियो खिच्न लाग्यो । घटनामुचुल्का बनाएर मात्रै घाईतेलाई अस्पताल पठाईयो । यो वीचमा दुर्घटनास्थल हुँदै गुड्ने सवारीका साधनले समेत घाईतेलाई उद्धार गरेनन् । दुर्घटनाका घटनामा घाईतेलाई पहिले उद्धार गरेर बाँकी प्रक्रिया अघि बढाउनु पर्दछ । घाईतेको जीवन रक्षा पहिलो प्राथमिकता हो । तर, सिन्धुपाल्चोक दुर्घटनामा प्रहरी समेत घाईतेलाई समयमा उद्धार गर्न चुकेको देखिएको छ ।

ढिलागरी घाईतेलाई घटनास्थलबाट केही किलोमिटरको दुरीमा रहेको सिन्धुसदाबहार अस्पतालमा पुर्याइएको थियो । सो अस्पतालका डा. देवेन्द्र गौतमले निकै ढिला गरी घाइतेलाई अस्पताल ल्याएको र तत्कालै काठमाडौं रिफर गरेको बताउनुभयो । उहाँका अनुसार घाइतेको समयमै उपचार हुन नसक्दा अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो । सिन्धु सदावहार अस्पतालले रिफर गरेका घाईते श्रेष्ठ भक्तपुरको साँगा पुग्दा समेत बोल्दै गरेको उद्धारमा संलग्नहरुले बताएका छन् । तर, बिएण्डबि अस्पताल पुर्याउनासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

श्रेष्ठ वैदेशिक रोजगारीको क्रममा फ्रान्स जानकालागि कागजात लिएर काठमाडौं जाने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा उनी सवार मोटरसाईकल समेत पूर्णरुपमा क्षेतिग्रस्त भएको छ । ठक्कर दिने बस र चालक श्याम वहादुर थामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक श्रेष्ठको शव काठमाडौंमा रहेको छ ।

(सिर्जना गोलेले लेखेको यो समाचार हाम्रो अपडेट अनलाइनबाट साभार गरिएको हो।)

प्रतिक्रिया दिनुहोस्