एउटा एम्बुलेन्सलाई जिल्लाभरकै लागि ‘शव वाहन’को रूपमा प्रयोग गर्ने सोलुदूधकुण्डको निर्णय
सोलुखुम्बु।जिल्लाको एकमात्र नगरपालिका सोलु दुधकुण्डले आफ्नो मातहतमा रहेका चारवटा एम्बुलेन्समध्ये एउटालाई शब बाहनका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ।

नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा बुधबार सम्पन्न नगरकार्यपालिका बैठकले सो निर्णय गरेको हो। जिल्लामा हालसम्म पनि कुनै पनि शब बाहन नभएको अवस्थालाई दृष्टिगत गर्दै त्यसबाट उत्पन्न समस्या समाधानका लागि आफ्नो मातहतमा रहेका चारवटा मध्ये एउटा एउटालाई शब बाहनका रूपमा प्रयोग गर्ने निर्णय गरिएको नगरप्रमुख शेर्पाले जानकारी दिए।
बैठकले गत आर्थिक बर्षमा नगरपालिका कार्यपालिका बैठक र भएका निर्णय कार्यान्वयनको अवस्थाबारे समेत समिक्षा गरेको छ।नगरप्रमुख शेर्पाका अनुसार गत आर्थिक बर्षमा नगरकार्यपालिकाको बैठक ११ पटक बसेर १७२ वटा निर्णय गरेको छ।निर्णय मध्ये १६३ वटा निर्णय पूर्णरूपमा कार्यान्वयन भएको र बांकी ९ वटा निर्णयहरु कार्यान्वयनको क्रममा रहेको शेर्पाले बताए।
पशु चौपायामा लाग्ने लम्पी स्किन रोग नियन्त्रणका लागि खोप र औषधिको थप ब्यबस्था गर्ने निर्णय पनि आजको कार्यपालिका बैठकले गरेको छ।हालसम्म नगरपालिकाका ११ वटै वडामा गरी कुल सात हजार १० वटा पशुमा लम्पी स्किन खोप लगाई सकिएको नगर प्रमुख शेर्पाले जानकारी दिए। सो रोगबाट ६०६ वटा संक्रमित र २२ पशुको मृत्यु भएको छ।

यसैगरी,जनैपूर्णिमाका अवसरमा नगरपालिकाको वडा नं-१ मा पर्ने प्रसिद्ध धार्मिकस्थल दूधकुण्डमा लाग्ने मेला ब्यबस्थापनका लागि शान्ति सुरक्षा र स्वास्थ्य शिबिरको ब्यबस्थापन गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख शेर्पाले जानकारी दिए।


