प्रतिनिधिसभा संचालनका लागि दलहरु सहमत, सुन तस्करी प्रकरणबारे गृहमन्त्रीले जवाफ दिने
काठमाडौं।सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभा संचालनबारे सहमति जुटेको छ। संसदको अवरोध खुलाउने विषयमा तीन दलका शीर्ष नेताबीच सहमति जुट्न नसकेपछि सभामुख घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतकलाई बैठकमा बोलाएका थिए।

संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सदनको अवरोध खुलाउने विषयमा सहमति जुटेको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए। प्रतिनिधिसभा बैठकमा सबै राजनीतिक दलका सांसदहरूले आ-आफ्नो धारणा राखेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनेछन्।
उनका अनुसार सु्न प्रकरणबारे उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले जवाफ दिन तयारी भएपछि सहमति जुटेको हो।
साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार चेकजाँच भइ बाहिरिएको एक क्वीन्टल सुन प्रकरणमा सरकारका मन्त्री तथा नेताहरूको संलग्नता रहेको र अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरोध गर्दै आएको छ।
सुन प्रकरणमा संसद्मा गृहमन्त्रीले जवाफ दिने भएपछि एमाले बैठक सुचारु गर्न तयार भएको हो।
बैठक दिउँसो ३ बजेका लागि बोलाए पनि सभामुख संसदको गतिरोध हटाउन आन्तरिक छलफलमा जुटेपछि अहिलेसम्म बस्न सकेको छैन।

