नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा आज विविध कार्यक्रम आयोजना गरिंदै



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस आज बिबिध कार्यक्रमको आयोजना गरी मनाइँदै छ।

विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले विभिन्न कार्यक्रमका साथ स्मृति दिवस मनाउन लागेका छन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी नेकपा एमालेले संस्थापक महासचिवको योगदानको विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने तयारी गरेको छ ।

पुष्पलाल स्मृति उद्यानमा नेकपा (एकीकृत समाजवादी)ले एक कार्यक्रमको आयोजना गर्ने जनाएको छ । त्यस्तै अन्य कम्युनिस्ट पार्टीहरूले पनि विभिन्न कार्यक्रम गरेर पुष्पलालको स्मृति दिवस मनाउँदैछन् ।

सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ २००६ सालमा पुष्पलालको नेतृत्वमा नेकपा स्थापना भएको थियो। पुष्पलालले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरेका थिए।

१९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको माइला छोराका रुपमा रामेछापको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

पञ्चायती व्यवस्थाका बेला तत्कालीन सरकारले उनको शव समेत नेपाल ल्याउन दिएको थिएन। राणा शासनविरुद्ध संघर्ष सुरु गरेका दाजु गंगालाको हत्या गरिएपछि पुष्पलालले दाइको अभियानलाई पूरा गर्न राजनीतिक यात्रा सुरु गरेका थिए।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए।

प्रतिक्रिया दिनुहोस्