कांग्रेस बैठकमा निर्वाचन प्रणाली बदल्नु पर्ने प्रस्ताव
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बर्तमान निर्बाचन प्रणाली अस्थिरताको कारक भएको बताउंदै निर्वाचन प्रणाली बदल्न कांग्रेसले नेतृत्व लिनुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै पौडेलले सो कुरा बताएका हुन।प्रतिनिधि सभा समावेशीसहित २०१ सिटको पूर्ण प्रत्यक्ष हुनुपर्ने र राष्ट्रिय सभा समावेशीसहित ३५ सिटको बनाउन सकिने उनको भनाई छ।

उनले पार्टीका सबै तहका चुनाव प्रत्यक्ष हुनुपर्ने पनि बताए। प्राइमरी इलेक्सन गरेर उम्मेदवारहरू छनौट गर्नुपर्ने उनको भनाइ छ। ‘एक व्यक्तिलाई चार पटकभन्दा संघीय संसदको टिकट दिन हुन्न,’ उनले भने, ‘प्रदेशमा २ पटक मात्रै टिकट दिँदा राम्रो हुन्छ।’
उनले समानुपातिकमा एक पटक मात्रै अवसर दिनुपर्ने बताए। ‘मुख्यमन्त्री र मन्त्री पनि २ पटक भन्दा बढी हुन दिनु हुँदैन,’ उनले भने। कार्यसम्पादन समितिका निर्णय २ महिनाभित्र केन्द्रीय समिति बसेर अनुमोदन नभए बदर हुने व्यवस्था गर्न उनको माग छ।
उनले भ्रष्टाचारमा जोडिएकाहरूलाई छानबिनमा सहयोग गरिनुपर्ने बताए। ‘गणतन्त्रपछिका चर्चित घटनाको छानबिनको नेतृत्व कांग्रेसले गर्नुपर्छ। उच्च पदस्थको सम्पत्ति छानबिन गर्नुपर्छ,’ उनले भने। अहिले सरकारमा बसेर काम नगर्ने हो भने २०८४ को चुनावमा जनतासँग गएर भोट माग्ने आधारसमेत बाँकी नरहने उनले बताए।
‘अहिले केही काम गरियो र पूरा भएन भने २०८४ को चुनावमा जनताका बीचमा गएर मत माग्ने आधार बाँकी रहन्छ। अहिले सरकारमा बसेर केही काम गर्न सकिएन अबको चुनावमा मत माग्ने आधारसमेत बाँकी रहन्न,’ उनले भने।

